Section 10
धितोपत्र कारोबार
(१) बैंक वा वित्तीय संस्थाले आफ्नो धितोपत्र सर्वसाधारणलाई निष्काशन गर्दा त्यस्तो धितोपत्रको बिक्री, बाँडफाँट, विनिमेय सम्बन्धी कार्य धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम गर्नु पर्नेछ । (२) बैंक वा वित्तीय संस्थाले कुनै धितोपत्र व्यवसायी संस्था मार्फत धितोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले सात दिनभित्र राष्ट्र बैंक समक्ष बुझाउनु पर्नेछ । (३) बैंक वा वित्तीय संस्थाले कुनै पनि प्रकारको डिबेञ्चर वा वित्तीय उपकरण जारी गर्दा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ । (४) उपदफा (३) बमोजिमको स्वीकृति दिँदा राष्ट्र बैंकले आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित बैंक वा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।